कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्लामा शुसासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त बनाउने, बजार अनुगमनलाई प्रभावकारी बनाउने, आयोजना कार्यान्वयनको प्रभावकारी अनुगमन गर्ने र शान्ति सुरक्षा कायम गर्ने कार्यमा आफु प्रतिवद्ध रहेको बताएका छन् ।
संचारकर्मीहरुको परिचयात्मक भेटघाट कार्यक्रममा उनले भने, “सेवाग्राही प्रतिको व्यवहार, आर्थिक अनुसासन, आयोजना कार्यान्वयनको प्रभावकारी अनुगमन र जिल्लाको समग्र सुरक्षाको सन्दर्भमा प्रभावकारी भुमिका खेल्ने नै रणनीति हुनेछ ।” उनले आफुले काम गर्ने शिलशिलामा विधि, प्रक्रिया, पद्धति र कानुनको पुर्ण पालनामा प्रतिवद्ध भई नागरिकहरुको सेवामा सर्मपित रहने समेत प्रतिवद्धता जनाए ।
कानुनबमोजिमको काम गर्न आफु प्रतिवद्ध रहेको उनले सुनाए । प्रजिअ गौतमले कानुन बमोजिम काम गर्ने क्रममा आउन सक्ने हरेक अप्ठ्याराहरुको सामना गर्न आफु तत्पर र सदैव इमान्दार रहने उनले उल्लेख समेत गरे ।
मोरङको विराटनगर घर भएका गौतम गृहमन्त्रालयबाट सरुवा भई यहि फाल्गुन १९ गतेदेखी कास्कीको प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्हालेका छन् भने कास्कीमा प्रमुख जिल अधिकारी रहेका ज्ञान प्रसाद ढकाल भने धादिङ सरुवा भएका छन् ।




