मलेसियाका पूर्वप्रधानमन्त्री नाजीब रजाक अर्बौं डलरको भ्रष्टाचारको एक मामिलामा दोषी पाइएका छन् । यो मामिला वान–एमडीबी नामक सरकारी कोषसँग जोडिएको छ जसलाई नजीबले दुरुपयोग गरेकोमा दोषी ठहर गरिएको हो ।
फैसलासँगै अब नजीबले दशकौँ लामो जेल सजाय पाउन सक्छन् । तर, हाललाई भने उनी जेलबाहिर नै रहनेछन् ।

नाजीबले आफू यस प्रकरणमा निर्दोष रहेको बताउँदै आफूलाई आर्थिक सल्लाहकारहरुले गुमराहमा राखेको दाबी गर्दै आएका छन्, विशेष गरेर हाल फरार रहेका झो लोले । झोविरुद्ध अमेरिका र मलेसिया दुवैमा मुद्दा दायर गरिएको छ । उनले पनि आफू निर्दोष रहेको बताउँदै आएका छन् ।
देशको अर्थतन्त्रलाई उकास्न भन्दै सन् २००९ मा वान मलेसिया डेभलप्मेन्ट बेरहाद (वान–एमडीबी) स्थापना गरिएको थियो । सन् २०१५ मा बैंकहरुलाई पैसा तिर्न ढिलाइ हुन थालेपछि यसमाथि प्रश्न उठ्न थालेको थियो ।





