इरानको इस्लामिक रिभोल्यूसनरी गार्डस कर्पोरेसन(आईआरजीसी)ले आफ्ना चार नयाँ हतियार सम्बन्धी जानकारी सार्वजनिक गरेको छ।
बिबिसीका अनुसार यसमा १२ हजार फिटमाथिबाट काम गर्न सक्षम एक जासुसी ड्रोन समावेश छ।

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले इरानमाथि हतियार खरिदमाथि लगाएको प्रतिबन्ध बढाउने चर्चा चलिरहेका बेला इरानको सर्वोच्च सेनाले यी हतियारको जानकारी सार्वजनिक गरेको हो।
शनिबार आइआरजीसीका कमान्डर जनरल हुसैन सलामीले स्वदेशी हतियारको बारेमा जानकारी दिएका हुन्। यी हतियार आईआरजीसीको स्थल सेनाको रिसर्च एण्ड सेल्फ-सफिसेन्सी जिहाद अर्गनाइजेसनले बनाएको हो।
यी हतियारमा बिटिआर-५० ट्याक पनि एउटा हो। यो मकरान ट्याकको नयाँ संस्करण हो यसलाई नयाँ ढाँचा दिइएको बिबिसीले जनाएको छ।
यसमा अग्नि नियन्त्रण प्रणाली, थर्मल नाइट भिजन क्यामरा र दुरी मापन लेजर प्रणाली छ। यो प्रणालीले जमिन र आकाशमा निशाना लगाउन ट्याकलाई सहज बनाइदिएको छ। ट्याकंमा ३० एमएम क्यालिवरको स्वचालित तोप र ७.७२ क्यालिवरको मेसिनगन जडान गरिएको जसलाई ट्याकभित्रैबाट नियन्त्रण गर्न सकिन्छ।



