गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कोरोना भाइरसको महामारीका कारण चालु आर्थिकवर्षमा लक्ष्य अनुसारको कार्यक्रम सञ्चालन हुन नसक्दा नगद मौज्दात आगामी आर्थिक वर्षमा सर्ने अनुमानका कारण बजेटको आकार बढ्न पुगेको बताउनुभएको छ । प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै उहाँले चालु आवको रू.७ अर्ब तथा आन्तरिक राजस्वमा करिब रू.२ अर्ब रकम थप हुने प्रक्षेपण गरिएको बताउनुभयो ।
अर्थमन्त्री गुरुङ्ले स्थानिय तहले आफ्नो क्षेत्रभित्रको सार्वजनिक तथा ऐलानी जग्गामा भएका प्राकृतिक स्रोतसाधन बिक्री गर्न पाउने व्यवस्था भएपनि वनक्षेत्र भने स्थानीय तहको क्षेत्राधिकारभित्र नपर्ने हुँदा उक्त वन क्षेत्रका प्राकृतिक स्रोतसाधनहरुको बिक्री प्रदेश सरकारले गर्ने गरी व्यवस्था मिलाइएको बताउनुभयो ।
यस्तै अर्थमन्त्री गुरुङले पोखरा महानगरपालिका वडा नं. ३३ को पुडिटारमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र बनाउने सन्दर्भमा जग्गा नापी, सर्वे, कित्ता एकीन गर्ने कार्य भइहेको जानकारी दिनुभयो । साथै कोभिड १९ का कारण विदेश र स्वदेशमा रोजगार गुमाएका १ लाख ५० हजार युवाहरूलाई मात्रै नभई अन्य बेरोजगार व्यक्तिहरूलाई समेत प्रदेश सरकारले स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको उहाँले उल्लेख गर्नुभयो । वैदेशिक रोजगारीबाट फर्केका यूवाहरुलाई समेत कृषि व्यवसायमा आकर्षित गर्न कोरोना प्रभाव लक्षित कृषि कार्यक्रमको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
पोखरा चक्रपथ तथा पोखरा बसपार्क निर्माणका सम्बन्धमा पोखरा महानगरपालिकासँग समन्वय गरि विस्तृत आयोजना प्रतिवेदन पुरा गर्ने, वातावरणीय अध्ययन गर्ने, जग्गा अधिग्रहण कार्य र लगानीको मोडल छनौट जस्ता आयोजना तयारी चरणका कार्यहरु सम्पन्न भएपछी मात्र निर्माण कार्य आरम्भ गरिने उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश सरकारको एकघर एक धारा कार्यक्रम अन्तरगत हालसम्म ९५ भन्दा बढी खानेपानी योजनाबाट २९ हजार ७ सय भन्दा बढी नीजि धारा वितरण गरिएको मन्त्री गुरुङले जानकारी दिनुभयो ।




