म विरलै लेख्छु। गलत भनेको जहिल्यै गलत नै हुन्छ। र, मानव अंग प्रत्यारोपण केन्द्रमा गलत भइरहेछ। गलत भएको पनि धेरै समय भइसकेको छ।

३० जना नर्सहरु हाडनंग्रा खियाएर बेथितिविरुद्ध लडिरहेका छन्। न्यायका लागि कठोर संघर्षमा होमिएका छन्। उनीहरुको संघर्ष देख्दा एकदम पीडा हुन्छ। उनीहरुमाथि जे भइरहेको छ, त्यो एकदम अनुचित छ।

अहंकारी र हृदयहीन निर्देशकले आफ्नो अस्पताल खरानी बनाउँदा पनि खुसी हुन्छन्, जबसम्म मानिसहरु उनीसामु झुक्न तयार हुन्छन्।

अस्पताल सफा गर्ने मान्छेदेखि कन्सल्टेन्ट लेभलका मान्छेहरुमा कानुन लगाइएको छ। आफ्नै स्टाफहरुलाई जेल पुर्‍याउन तयार हुन सक्छन्। जबकि १० जना नर्सले मात्र उनलाई माग पूरा गर्न भन्दै घेरेका थिए।

हृदयाघात भएर मान्छेहरु मरिरहेका छन्। तर १० करोडको उपकरण यत्तिकै थन्क्याएर खेर फालिइरहेको छ। जबकि यो विषयमा मिटिङ राख्न खोज्दा ६ महिनामा एकचोटि पनि बैठक बस्दैन।

एक्कासि लोकसेवाको सूची निकाल्ने काम भयो (जुन पहिले नै योग्यतासिहतका सबै तारताम्य मिलाएर बनाइएको थियो। त्यो गन्जागोल छ।)

पछिल्ला कदमले पूरै अस्पताल ध्वस्त हुनेछ। मिर्गौलाका बिरामीहरुलार्इ उनको निजी अस्पताल निदानमा जानु बाहेक अरु कुनै विकल्प हुनेछैन।

अस्पतालमा कलेजो प्रत्यारोपण कार्यक्रम अब न जीवित छ, न त मृत। उनले वीर अस्पतालको प्रत्यारोपण कार्यक्रम पनि छोडे। ७ वर्षमा मिर्गौला प्रत्यारोपणको लागि एक जनालाई पनि तालिम दिएनन्। आफूलाई कलेजो प्रत्यारोपणको सर्जन भनेर झुटो दाबी गर्ने गर्छन्। जबकि उनीसँग पर्यवेक्षणको अनुभव मात्र रहेको छ।

अस्पतालमा काम गर्ने कर्मचारीलाई ५ वर्षदेखि दसैं भत्तासमेत दिइएको छैन।

करोडौंको उपकरण किन्ने पैसा हुने तर मिर्गौला प्रत्यारोपणका लागि अनिवार्य चाहिने एचलए टेस्टिङ गर्ने पैसा नहुने? जबकि यो मेसिन उनको प्राइभेट अस्पतालमा रहेको छ।

जब उनी अहिलेको समीकरणबाट बाहिर आउनेछन्, मलाई आशा छ ढिलो या चाँडो सबैले यो कुरा बुझ्नेछन्। हाम्रो कानुनी प्रक्रिया नै गडबड छ। तर, देशमा यस्ता मान्छे पनि छन् जो आफ्नो बलिदान दिन तयार हुन्छन् र अन्यायविरुद्ध उभिन हिचकिचाउँनन्।

जब निर्देशक पुकार एकदमै दयनीय अवस्थामा बेलायतमा थिए। त्यतिबेला उनको जागिर पनि थिएन। म नियमित उनको कोठमा जान्थेँ। उनी एमआरसिएमा पास हुन सकून् भनेर आफै डमीको रुपमा प्रस्तुत भएँ।

मैले उनको आइएलटिएस अभ्यास पेपर पनि चेक गरेँ। उनको छोरीलाई पैसा आवश्यक परेको बेला बैंकमा पनि कुदेँ।

काठमाडौंमा मैले उनकी बिरामी श्रीमतीको स्याहारसुसार पनि गरेँ। उनले मलाई बुटवलबाट सहयोगका लागि बोलाएका थिए। आफैं सहिद धर्मभक्त ट्रान्सप्लान्ट सेन्टर निर्माणको तयारीमा रहेछन्। हामीलाई त्यो सेन्टर निर्माण गर्न धेरै मेहनतको आवश्यकता पर्‍यो। सबै सामान तथा उपकरणहरुका लागि सयौं बिक्रेतालाई फोन पनि गरियो।

शल्यकक्ष र आइसियूका लागि सयौं उपकरण एकएक गरी चेक गरियो। कहिलेकाहीँ मध्यरातसम्म पनि। क्लास र जाँच दिएर आइसियू स्टाफलाई सावधानीपूर्वक तालिम दिइएको थियो। र, सबैकुरा तयार भएपछि, एकचोटि कार्डियाक टिमलाई सामान्य जानकारी र शिष्टाचार पालना नगरीकन उनले डा कोइराला पहिलो अप्रेसनको लागि आउँदैछन् भनेर घोषणा गरे। मैले यो सही भएन भनेर विरोध गरेँ।

हामीले पहिले गरेका राम्रा कामहरु सम्पूर्ण तरिकाले बिर्सिइएको थियो। हामी संस्थाको विकासमा लागिरहेका थियौं। तर, उनले मलाई नै चुनौतीका रुपमा लिन थाले। त्यही पनि हाम्रो टिमले विभिन्न बाधा अड्चन पार गर्दै १७ वटा सफल ओपन हार्ट सर्जरी गर्‍यो। जब उनको नेतृत्वबाट क्याथ ल्याब सुरु भयो, हामी निकै खुसी भयौं। तर चाँडै उनमा कार्डियाक प्रोगाम अगाडि लाने इच्छा देखिन छाड्यो। १० करोड उपकरणको सामान आउँदा न त उनी फोनमा प्रतिक्रिया जनाउँथे, न त बैठक/छलफल नै गर्न चाहन्थे; त्यो पनि ६ महिनासम्म।

मेरा आँखा रसाउँथे, जब भक्तपुरको हाइवेमा हृदयाघात भएर बिरामीहरुको मृत्यु भएको सामाचार सुन्थेँ। हाम्रो क्याथ ल्याब केही गरिरहेको हुन्थेन। ६ महिनासम्म छलफल र अपिलको सुनुवाइ नभएपछि मैले मन्त्रालय, मिडिया र स्थानीय नेतालाई तीव्र दबाब दिन पहल गरेँ।

तुरुन्तै निर्देशकले कार्डियाक प्रोगाम अगाडि बढाउन इच्छा देखाए। के ६ महिनासम्म बिरामीहरु मृत्युको लागि छोडिएको थियो? धुलिखेल अस्पतालका एक डाक्टर हालसालै बिते हाइवेमा। उनलाई यदि कार्डियाक इआर र क्याथ ल्याब टिम ठाउँमा हुन्थ्यो भने बचाउन सकिन्थ्यो। त्यसैले कहाँ छ जवाफेदही, मेडिकल इथिक्स र व्यावसायिक जिम्मेवारी?

आज नर्सहरु विरोध गरिरहेका छन्, भलै उनीहरुको छुट्टै माग छ तर जायज छ। उनीहरुलाई दोस्रोचोटि जेल लगिएको छ। उनीहरु डराएका छन्। के यो देशमा न्याय छ?

१० करोडको उपकरण किन (सायद कमिसन सहित)? जब उपकरण आइपुग्छ, त्यसपछि मतलब हुँदैन। मानिसहरु हाइवेमा मरिराखेका हुन्छन्। कुनै कानुनले पनि छुन सक्दैन उनलाई। तर, यहाँ जब कलिला नर्सहरु विरोध गर्छन् तब प्रहरी संयन्त्रले तुरुन्तै उनीहरुलाई जेल कोच्नका लागि पक्रिन्छ। उनीहरुलाई कसले निर्देशन दियो जबकि त्यहाँ कसैले पनि हिंसा गरेको छ न कसैको प्राइभेट पोपर्टीमा आँच पुगेको छ? म साहसी छैन यी नर्सहरु साहसी छन्। यतिसम्मको अन्याय र अमानवीयको स्तर देख्दा म चुप लागेर बस्न सक्ने अवस्थामा छैन। र, मसँग सार्वजनिक रुपमा बोल्नुबाहेक अरु केही विकल्प थिएन। यी देशका अधिवक्ता र पत्रकारहरु कहाँ गए? सत्यतथ्य तथा छानबिन र खोजका लागि आउनुस्।

-swasthyakhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार