पोखरा, चैत्र ।
वरिष्ठ साहित्यकार एवं फोटो पत्रकार विश्व शाक्यको २८ औं कृति “पोखरा ः हिजो र आज” नामक फोटो पुस्तक लोकार्पित भएको छ । स्वतन्त्र पत्रकार संघ नेपालद्वारा आज आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले सो फोटो पुस्तक लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख कुँवरले शाक्यको पुस्तक भावी सन्ततिका लागि गतिलो अभिलेख भएको धारणा राख्नुभयो । विगतको पोखराको अनुभूति दिलाउने गरी पुस्तक सार्वजनिक भएको भन्दै उहाँले शाक्यले पुस्तकमार्फत् पोखराको चिनारी गराएर मातृभूमिप्रतिको कर्तव्य पूरा गरेको बताउनुभयो । पुस्तक तयार गर्दासम्म शाक्यले मेहेनत गरेको भएपनि लोकार्पित पुस्तक सबैको साझा सम्पत्ति भएको भनाइ राख्नुभयो ।

पोखरा महानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले शाक्यद्वारा सिर्जित पुस्तकलाई महानगरपालिकाले अमूल्य पूँजीको रुपमा राख्ने उद्घोष गर्नुभयो । शाक्यको यस पुस्तक पोखरा आउने पाहुनाहरूलाई उपहारका रुपमा दिने व्यवस्था गर्ने भन्दै कार्यवाहक महानगर प्रमुख गुरुङले पुस्तकले हिजोको पोखरा र आजको पोखरालाई राम्रोसँग चिनाउने धारणा राख्नुभयो ।

पुस्तकका लेखक विश्व शाक्यले पोखरालाई केही दिनुपर्छ भन्ने मनसायका साथ पुस्तक प्रकाशन गरेको बताउनुभयो । सो अवसरमा शिक्षाविद् जर्ज जोन, नेपाल पत्रकार महासंघ, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायतले पुस्तक र लेखकका बारेमा चर्चा गरेका थिए ।



